सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीमा तेस्रो पटक थपिएको निषेधाज्ञाको अवधी आज (आइतवार) सकिँदै छ ।
समुदाय स्तरममा व्यापक मात्रामा कोरोनाको संक्रमण पाइएपछि सर्लाहीमा गत साउन २६ गतेदेखि पटक–पटक गरी तीन पटक निषेधाज्ञा थप भइसकेको छ । आज राती १२ बजेपछि निषेधाज्ञाको अवधी सकिने भएकाले यसबारेमा थप निर्णय गर्न दिउँसो २० वटै पालिकाका प्रमुख, सुरक्षा प्रमुख, राजनीतिक दल, उद्योगी व्यवसायी, नागरिक समाज लगायतको बैठक राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
यसअघि तेस्रो पटक निषेधाज्ञा थप्दा बैंक तथा वित्तीय संस्थाहरुलाई समय निर्धारण गरी खोल्न अनुमति दिइएको थियो । जसअनुसार सदरमुकाम मलंगवासहित दक्षिणी भेगका पालिकाहरुमा दैनिक केही घण्टा बैंक र बजारहरु खुलिरहेका छन् ।
उत्तरी भेगका पर्ने लालबन्दी नगरपालिकाले भने आजबाट मात्रै बैंक तथा वित्तीय संस्था र दैनिक उपभोग्य वस्तुका सामग्रीहरुको पसल बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्न दिने नगरपालिका कार्यालयले हिजो भर्खर निर्णय गरेको छ ।
यस्तै ईश्वरपुर नगरपालिकाले भने नगरपालिकाबाट पठाइएको थ्रोट स्वाबको पीसीआर रिपोर्ट आउन बाँकी रहेको भन्दै पर्सी १६ गते राती १२ बजेसम्म अहिलेकै निर्णय अनुसार औषधि पसलहरु मात्रै खोल्न दिने भएको छ ।
यसैगरी हरिवन नगरपालिकाले यसबारेमा निर्णय गर्न आजै सरोकारवालाहरुसँग छलफल गर्दै छ ।