हरिवन, ०५ मंसिर – बिश्व वाल अधिकार दिवसको अवसरमा हरिवन नगरपालिका-८ स्थित महादेव जनता नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
माविका पूर्व विद्यार्थी समाजले विद्यालयको सभाहलमा चित्रकला तथा नेपाली अंग्रेजी हस्तलेखन प्रतियोगिता कार्यक्रम गरेको हो । हरिवन नगरपालिका अन्तर्गत १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका १०६ जना विद्यार्थी प्रतियोगितामा सहभागि थिए । कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता तर्फ मनकामना विद्यालयका रिदिश लामा प्रथम, सनराईजका आदित्य महतो द्वितीय, राम अबतार माविका कबिता मोक्तान तृतीय, सगुन विद्यालयका रिशब लामिछाने चौथो तथा महादेव जनता माविका अरुण रमौली मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छ्न ।
त्यस्तै अंग्रेजी हस्तलेखन तर्फ डनिङ फ्युचर एकडेमीकी गोमा विक प्रथम, अर्किड स्कूलका सुधिर कुमार महतो द्वितीय, डनिङकी स्विकृती लामा तृतीय तथा सर्लाही एम्बिशन एकेडेमीकी समिक्षा बल चौथो भएका छन् । त्यसैगरी नेपाली हस्तलेखन तर्फ डनिङकी खुसी थिङ प्रथम, अर्किडकी गरिमा उप्रेती द्वितीय, मनकामनाकी एलिसा लामिछाने तृतीय तथा सगुनकी समीक्षा क्षेत्री चौथो भएका छन् । प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको समाजकी संयोजक आरती लामाले जानकारी दिइन् ।
समाजकी संयोजक लामाको संयोजक्त्वमा आयोजित कार्यक्रममा हरिवन नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रज्वल ढुंगानाकाे प्रमुख आतिथ्यता रहेको थियो भने निवृत शिक्षक सेवा समाज हरिवन नगर संयोजक जयशंकर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घ कुमारी आचार्य लुइटेल, प्रधानाध्यापक गिरिराज रानाले लगायतले विचार राखेका थिए ।
आफू अध्ययन गरेको विद्यालय तथा हाल अध्ययनरत विद्यार्थीहरुमाझ थोरै भएपनि रचनात्मक टेवा पुर्याउन पाइयोस् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको संयोजक लामाले बताइन् । समाजले केही समय अघि तिहारको शुभकामना सहित शिक्षक सम्मान तथा भेटघाट कार्यक्रम पनि आयोजना गरेको थियो ।