logo
  • आइतवार, मंसिर ६, २०८३ / Sunday, Nov, 22 ,2026

सर्लाहीबाट काठमाडौँ जाने इभी गाडीले २ बजेभित्र बागमती क्रस गरिसक्नुपर्ने


  • उज्यालो अभियान

लालबन्दी, ०४ मंसिर – सर्लाहीबाट मकवानपुरको भीमफेदी हुँदै काठमाडौँसम्म चल्ने विद्युतीय गाडी (इभी) लाई दिउँसो २ बजेसम्म बागमती पार गरिसक्नु पर्ने भएको छ ।

सदरमुकाम मलंगवामा जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले यहाँबाट काठमाडौँ जाने यात्रुबाहक इभी गाडीलाई सदरमुकाम मलंगवा क्षेत्रबाट १ बजेसम्म छुटिसक्नु पर्ने र बागमतीस्थित अस्थायी ट्राफिक पोष्टमा इन्ट्री भइ दिउँसो २ बजेभित्र बागमती क्रस गरिसक्न भनिएको हो । पछिल्लो समय भीमफेदीमा बारम्बार दुर्घटना बढेपछि काठमाडौँ र मकवानपुर प्रशासनले हेटौंडा-काठमाडौँ रुटमा गाडी चलाउन विभिन्न नियम लगाएपछि सर्लाहीमा यस्तो निर्णय गरिएको हो ।

सोही निर्णयलाई मध्यनजर गर्दै सर्लाहीबाट छुटेर जाने हेटौंडा-काठमाडौँ रुटका साना विद्युतीय गाडीलाई २ बजेभित्र जिल्ला छाडिसक्न भनिएको हो । सुरक्षा प्रमुख, यातायात व्यवस्थापन समितिका सदस्य, यातायात व्यवस्था कार्यालयका प्रमुख, यातायात व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा यस्तो निर्णय गरिएको हो ।

यो निर्णयमा सम्पूर्ण यातायात व्यवासायीले सहमति जनाएको सर्लाही-काठमाडौँ रुटका बस व्यवसायी दीपक श्रेष्ठले जानकारी दिए ।

बैठकले सर्लाहीमा जिल्लाभित्र, अन्तर जिल्ला, अन्तर प्रदेश चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधन व्यवस्थापन तथा नियमन गर्नका लागि आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।