कविलासी नगरपालिकास्थित सलेमपुर चोक क्षेत्रको दृश्य ।
मलंगवा, ०१ मंसिर – चिसो बढेपछि स्थानीय प्रशासनले सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज प्रेस विज्ञप्ती नै जारी गर्दै विगत केही दिनदेखि बिहान र रातिको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने तथा शीतलहर चल्ने अवस्था देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले हस्ताक्षर गरी जारी गरिएको सूचनामा अत्यधिक चिसो बढेर दैनिक जनजीवनसँगै सडक यातायात र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ ।
बढ्दो ठण्डीका कारण स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन, आगलागी तथा निसास्सिने जोखिमबाट बच्न, यात्रा गर्दा सावधानी अपनाउन, कृषि तथा पशुपंक्षीको संरक्षण गर्न आग्रह गरिएको छ ।