logo
  • आइतवार, मंसिर ६, २०८३ / Sunday, Nov, 22 ,2026

हरिवनमा गरियो कुकुरहरुको स्थायी बन्ध्याकरण


  • उज्यालो अभियान

हरिवन, ०५ मंसिर – हरिवन नगरपालिकाले छाडा (भुस्याहा) र घरमा बाँधेर पालिएका कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविजसहित विभिन्न खोप लगाउने कार्य गरेको छ ।

दुई दिनसम्म चलेको बन्ध्याकरण शिविर शुक्रबार साँझ सम्पन्न भएको हरिवन नगरपालिकाका पशु चिकित्सक डा. महेश कुमार श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार विहिबार बिहानदेखि हरिवन नगरपालिका अन्तर्गत विभिन्न सार्वजनिक स्थानमा रहेका कुकुरहरु संकलन गरेर वडा नं.१० स्थित पशु सेवा शाखा कार्यालय परिसरमा स्थायी बन्ध्याकरण तथा रेविज लगायत विभिन्न खोप लगाउने कार्य सम्पन्न गरिएको हो ।

डा.श्रेष्ठका अनुसार १३१ वटा पोथी तथा २४ वटा भाले कुकुरको बन्ध्याकरणसहित खोप लगाइएको छ । शिविरमा बीएमबी भेट हस्पिटल काठमाडौंको प्राविधिक सहयोग रहेको थियो । भेटका शल्य चिकित्सकद्वय डा. विकास श्रेष्ठ र डा. श्रीजन थापासहितको पशु स्वास्थ्यकर्मीहरुले कुकुरहरुलाई बन्ध्याकरणसहित खोप लगाउने कार्य गरेका थिए । १४० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेपनि १४ वटा बढीको भएको डा. श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार बन्ध्याकरण गरिएका कुकुरहरुमा अधिकांश छाडा तथा थोरै घरमा बाँधेर पालिएका रहेका छन् ।

छाडा कुकुरहरुको बिगबिगी बढेको र रेविजको संक्रमण नफैलियोस् भन्ने उद्धेश्यका साथ स्थायी बन्ध्याकरण सहित खोप कार्यक्रम गरिएको हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी (रमेश) ले जानकारी दिए । ‘हामीले पोहोर पनि सयवटा भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गराएका थियौं, यस वर्ष पनि गरेका छौं ।’, बुढाथोकीले उज्यालो अभियानसँग भने, ‘अब फेरि बजेट थप्दै पुनः यस्तो शिविर गरेर नगर भरिका कुकुरहरुको स्थायी बन्ध्याकरण सहित खोप कार्यक्रम गछौं ।’