मलंगवा, २९ कात्तिक – छठका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ अर्पण गरेका छन् ।
पानीमा डुबेर सूर्यलाई अर्घ चढाएसँगै व्रतालु बत्ती जगाएर छठघाटमै बास बसेका छन् । उनीहरुले अब सोमबार बिहान पुनः यसैगरी उदाउँदो सूर्यलाई अर्घ चढाएपछि मात्र घर फर्कने छन् ।
छठघाटमा व्रतालुसँगै उनीहरुको परिवारका सदस्य र दृश्यावलोकन गर्न पुगेकाहरुको बाक्लो चहलपहल छ । सर्लाहीका २० वटा पालिकाका सयौँ स्थानमा पोखरी, खोला, नदी, नहर तथा अन्य जलाशय किनारमा छठघाट तयार पारेर छठी मैयाँको पूजा गरिएको छ ।
कतिपयले कृत्रिम पोखरी निर्माण गरेर घरमै समेत छठ पूजा गरेका छन् । सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिपुर, हरिवन, बागमती, बरहथवालगायत पालिकामा विभिन्न जातजाति तथा सामुदायका मानिसले सामूहिक रुपमै छठपर्व मनाइरहेको देखिन्छ ।
सबै स्थानमा व्रतालुले बाँसको सुपली र ढकनीमा सजाइएका नरिवल, उखु, केरा, ठेकुवा, फलफूललगायतका पूजासामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् ।
छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिइन्छ ।