logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बागमती सिँचाईका ज्यालादारी कर्मचारी धर्नामा


  • उज्यालो अभियान

कर्मैया, १७ कात्तिक – सर्लाही र रौतहटमा सिँचाई सुविधा पु¥याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले सोमबारदेखि कार्यालयमा धर्ना सुरु गरेका छन् ।

पच्चिसौँ वर्षदेखि दिनरात र घामपानी नभनी कार्यरत आफूहरुलाई ५८ वर्षीय उमेर हद लगाएर कामबाट निकाल्न खोजिएको भन्दै सर्लाहीको कर्मैयास्थित बागमती सिँचाई आयोजनाको गेटमा ज्यालादारी कर्मचारीले धर्ना सुरु गरेका हुन् । उनीहरुले उमेर हद खारेज गर्न, कात्तिक ११ गते प्रकाशित शर्तहरु सुधार गर्न, आयोजनाले २०७५ बैशाख ३१ गते बनाएको समितिको सेवा सुविधा सम्वन्धी प्रतिवेदन कार्यान्वयन गर्न, चाडपर्व खर्च, पोसाक र महँगी भत्ताको व्यवस्थाको गर्न तथा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन् ।

यी माग पुरा गर्न आफूहरु पहिलो चरणमा कात्तिक २० गतेसम्म कार्यालय समयभर कालोपट्टी बाँधेर धर्नामा बस्ने र माग पुरा नभए मङ्सिर १ गतेदेखि तालाबन्दीमा उत्रने बागमती सिँचाई आयोजना ज्यालादारी कर्मचारी समितिका अध्यक्ष विनोदकुमार पासवानले जानकारी दिए । तत्काल कार्यालय तथा सिँचाई नहरका काम प्रभावित नहुने गरी सर्लाही र रौतहटमा खटिएका ज्यालादारी कर्मचारी आलोपालो गरी धर्नामा बसेको पासवानको भनाइ छ ।

परियोजनाका ज्यालादारी कर्मचारीले नहरको रेखदेख, माली, सुरक्षागार्ड, चालक, प्लम्बर, सरसफाईलगायतको काम गर्दै आइरहेका छन् । ५८ वर्षीय उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका २४४ जना र बागमती–मनुष्मारा–झाँझ सिँचाई व्यवस्थापन कार्यालय कर्मैयाका २० जना गरी २६४ जना ज्यालादारी कर्मचारी आन्दोलित बनेका छन् ।