logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चल्न थाले लामो दुरीका गाडी पनि, सबैजसो बजार समेत खुला


  • उज्यालो अभियान

लालबन्दी, १६ साउन – आजदेखि लामो दुरीका सवारी साधनसमेत सञ्चालनमा आउन थालेपछि यात्रुलाई सहज भएको छ ।

हिजो, अस्ती टाढाटाडा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए । आज बिहानदेखि भने लामो दुरीमा चल्ने बससमेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो ।

पूर्वका सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्णरुपमा खुल्न सकेका छैनन् । मलंगवाबाट बस चलाउने बस व्यवसायी दीपलाल महतोले अन्य दिनको तुलनामा शनिबारदेखि बस संचालनमा सहजता भएको उज्यालो अभियानसँग बताएका छन् ।

वीरगन्ज, बर्दिवास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका र ढल्केबरदेखि पूर्वतर्फ पनि विस्तारै अवस्था सहज भइरहेकाले बस गुडाउन सुरु गर्ने तयारी रहेको महतोको भनाइ छ । पूर्वका धेरै ठाउँमा अहिले साना गाडीहरु (हायस र वीङ्गर) ले भने फाट्टफुट्ट यात्रु ओसारपसार गर्दा सहजता भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं इन्स्पेक्टर झलक शर्माले शनिबारदेखि महेन्द्र राजमार्ग र अन्य भित्री सडकमा सवारीको चाप बढ्न थालेको बताउनुभएको छ । लोकल टेम्पु, म्याजिक, जीप, बस, बोलेरो भने सामान्य अवस्थामै नियमित सञ्चालनमा रहेका छन् ।

केन्द्रीय राजधानी काठमाडौँसम्म प्रत्येक सवारी साधन निर्वाध आउजाउ गरिरहेका छन् । आन्दोलन कम हुँदै गएसँगै हरेक सवारी साधन क्रमिक रुपमा सुचारु हुन थालेका हुन् ।
यातायातसँगै मधेशका बजारहरु पनि साबिक झैँ खुल्न थालिसकेका छन् ।

सर्लाहीमा हिजोको प्रदर्शनले बन्द भएका बरहथवा, बयलवास र मलंगवा बजार आज शनिबारदेखि खुलेका छन् ।