लालबन्दी, १४ असार – सर्लाहीको लालबदी नगरपालिका १ नवलपुर रामजानकी मन्दिर परिसरमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वडास्तरीय (वडा नं. १ देखि ७ सम्मको) सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । लालबन्दी नगरपालिका कार्यालयको सहयोग तथा सामुदायिक एकता संचार सन्जाल लालबन्दी ५ को आयोजनामा सार्वजनिक सनुुवाई कार्यक्रम सम्पन्न भएको हो ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेल, लालबन्दी १, २, ३ र ७ का वडाध्यक्ष क्रमश : हरिहर भट्टराई, किरणकुमार पासवान, वुद्धदेव चौधरी, कृष्णकुमार कार्की (गोपाल), शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, राजस्व शाखा प्रमुख गोपाल थापा, भूमी शाखाका चेतबहादुर मगर, स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा, कृषि शाखाका प्रमुख गोकर्ण पौडेल, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं इन्स्पेक्टर श्याम थापा मगरसहित नगरपालिकाको विभिन्न शाखाका प्रमुख, शिक्षक, विद्यार्थी, स्थानीय व्यवसायी, सामाजिक अभियन्ता, राजनीतिज्ञलगायतको उपस्थिति रहेको थियो ।
सहभागीले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जनप्रतिनिधि र शाखा प्रमुखहरुसँग नवलपुर बजारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारलगायत विषयमा जिज्ञाशा व्यक्त गरेका थिए । सहभागीको गुनासो तथा जिज्ञाशाालाई नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, शाखा प्रमुखहरुलगायत भएर सम्वोधन गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुईटेलले फोहोर व्यवस्थापनका लागि व्यवस्थित ठाउँ नरहेको, बजारलाई व्यवस्थित र नियमित ठेक्का लगाउन सके राजस्व बढ्न सक्ने अवस्था रहेको, ठूला किसिमका योजना संचालन गर्दा प्राविधिक कर्मचारीको अभाव रहेको जस्ता विषय राखे ।
लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले लालबन्दी र नवलपुर बजारमा देखिएका विकृति अन्त्य र बजारका सरकारी सर्टर ठेक्का लगाउन आगामी साउन १ गतेदेखि कठोर नीति लिने बताए । उनले स्वास्थ्यमा नगरपालिकालाई प्रदेशमै पहिलो बनाउन सफल भएको, काठमाडौं विश्वविद्यालयसँग समन्वय गरी कृषि क्याम्पस निर्माणको काम अघि बढाइएको, सुनकोशीको पानीले उत्तरी भेगमा सिँचाई पुग्ने गरी व्यवस्थापन गर्न पहल गरिरहेको लगायत दीर्घकालिन योजनाका लागि काम गरिरहेको उल्लेख गरेका छन् ।

अब वडा नं. ११ देखि १७ सम्मको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम भोली लालबन्दी १२ जियाजोरस्थित नारायण माध्यमिक विद्यालय र पर्सी मंगलबार लालबन्दी १७ रानिगन्जमा नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।