हरिपुर, ०९ असार – सर्लाहीको हरिपुरमा आजदेखि विद्यार्थीका लागि आधारभूत पत्रकारिता सम्वन्धी ३ दिने तालिम सुरु भएको छ ।
हरिपुर नगरपालिकाको आर्थिक सहयोग तथा जय माँ मिडिया प्रालिको आयोजनामा हरिपुर नगरपालिकाका ३ वटा विद्यालयमा आजदेखि एकैसाथ आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । हरिपुर नगरपालिका १ मा रहेको पाँचकुमार राम औतार लक्षिया माध्यमिक विद्यालय हजारबिघा, हरिपुर नगरपालिका २ मा रहेको महावीर जनता बहुमुखी क्याम्पस हरिपुर बजार र हरिपुर नगरपालिका ४ मा रहेको जनता माध्यमिक विद्यालय हरैयामा तालिम सुरु भएको छ ।

तीनवटै स्थानमा ३५ जनाका दरले विद्यार्थी सहभागी भएका छन् । सहभागीलाई सर्लाहीमा क्रियाशील पत्रकारहरु ओमप्रकाश ठाकुर, टंकबहादुर क्षेत्री, रामबाबु खड्का, जनार्जन खत्री, घनश्याम बलम्पाकी, श्रवण थापा, सन्जु कर्णलगायतले प्रशिक्षण प्रदान गरिरहेका छन् ।
विद्यार्थीलाई आधारभूत पत्रकारिताबारे ज्ञान दिने, दुष्प्रचारको बारे सचेत गराउने, साइबर सुरक्षाबारे सचेतना जगाउने र व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।