मलंगवा, २६ जेठ – प्रहरीमाथि हातपात गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् ।
साेमबार राती नाै बजे कबिलासी नगरपालिका-८, अगर्वामा भएकाे दुर्घटनामा अनुसन्धान गरिरहेकाे प्रहरी टाेलीमाथि घाइते नै हुनेगरी हातपात भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । प्रहरीमाथि हातपात गरेकाे अभियाेगमा कबिलासी-१० सलेमपुर निवासी १९ वर्षीय बिक्रम कुमार यादव र २१ वर्षीय प्रियांशु यादवलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनकाे म्याद लिएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए ।
गाैतमका अनुसार साेमबार राती ९ बजे नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत अगर्वामा पार्किङ गरी राखेकाे ना. ६ ख ७६२३ नम्बरको ट्रकलाई ज. १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियाे । दुर्घटना लगतै दुर्घटनास्थल पुगेर ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रहरी टाेलीमाथि ट्याक्टर धनी सलेमपुर निवासी अशाेक कुमार यादव नेतृत्वकाे समूहले हातपात गरेकाे र ट्याक्टर समेत लिएर फरार भएकाे प्रनाउ गाैतमले दाबी गरे ।
घटना पश्चात जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिपुरकाे संयुक्त टाेलीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । ट्याक्टर धनी अशाेक कुमार यादव भने फरार रहेकाे र खाेजी कार्य भइरहेकाे प्रनाउ गाैतमले जानकारी दिए ।
तत्कालिन मधेशी जन अधिकार फाेरमबाट २०६४ सालकाे संविधान सभा सदस्य निर्वाचित यादव हाल नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध छन् ।