चन्द्रनगर, १४ जेठ – जिल्ला सुरक्षा समिति, सर्लाहीको आयोजना तथा चन्द्रनगर गाँउपालिका, सर्लाहीको सहकार्यमा सुरक्षाकर्मीहरुले विपद् प्रतिकार्य अभ्यास प्रस्तुत गरेका छन् ।
नेपाली सेना कालिध्वज गण पाँचकुमारी ब्यारेक, जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा मनसुनजन्य विपद् पुर्वतयारी अन्तर्गत बुधबार बिहान चन्द्रनगरकाे नाढीमन तालमा अभ्यास प्रस्तुती गरेका हुन् । कार्यक्रममा विपद् सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षा निकायहरूको समन्वयात्मक क्षमता उजागर गरिएको र संयुक्त रूपमा परिचालित टोलीले ड्राई रेस्क्यू, वाटर रेस्क्यू, ईम्प्रोभाईज डेमोस्ट्रेसन जस्ता उद्धार तथा जोखिम न्यूनीकरण सम्बन्धी प्रदर्शन गरेको सशस्त्र प्रहरी उपरीक्षक अमर बाहादुर खत्रीले जानकारी दिए । त्यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीका सुरक्षाकर्मीहरुले समाजमा बढ्दै गएको लागू औषध दुरुपयोग तथा दुर्व्यसनि न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका छन् ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष अध्यक्ष राज कुमार महतोकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गिता देवी महताे, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाली सेना कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति प्रमुख सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र नाथ पाैडेल र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री लगायतकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा शिक्षक, विद्यार्थी, संचारकर्मी तथा सरोकारवाला निकायहरू सहित स्थानीय सर्वसाधारणहरुले सुरक्षाकर्मीहरुद्वारा प्रस्तुत अभ्यासकाे प्रत्यक्ष अवलाेकन गरेका थिए ।