logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पत्रकार महासंघकाे साधारण सभा सम्पन्न, पत्रकार थापा पुरस्कृत


  • उज्यालो अभियान

पत्रकार श्रवण थापालाई पुरस्कृत गरिदै ।

मलंगवा, १० जेठ – नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे बाह्राैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा उद्घाटन समाराेहमा तेस्राे स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट पत्रकार श्रवण थापा सम्मानित भएका छन् । १५ हजार ५५५ रुपैंया राशीकाे पुरस्कारसहित थापालाई सम्मान गरिएकाे हाे । यस उज्यालाे अभियान मिडियाकाे सञ्चालक संस्था उज्यालाे अभियान मिडिया नेटवर्क प्रालिका सञ्चालक सदस्य समेत रहेका थापा बागमतीस्थित रेडियाे दर्शनका सञ्चालक तथा रासस, नयाँ पत्रिका, हिमालय टिभी लगायत राष्ट्रिय संचारमाध्यममा समेत आवद्ध रहेका छन् । महासंघ सर्लाहीका संस्थापक अध्यक्ष चूडामणि वाग्लेकाे संयाेजकत्व एवं महासंघका पूर्व सचिब सुनिल ठाकुर र समाजसेवी भवानी काेइराला सदस्य रहेकाे छनाैट समितिले थापालाई पुरस्कृत गर्न सिफारिस गरेकाे थियाे ।

उक्त पुरस्कारबाट यसअघि यसै उज्यालाे मिडियाका समाचार संयाेजक जनार्जन खत्री र पत्रकार मनाेज यादव पुरस्कृत भइसकेका छन् । मधेश प्रदेशका पूर्व प्रमुख राजेश झा अहिराजले प्रदान गरेको ५० हजार रुपैंयाकाे अक्षयकाेषबाट प्राप्त हुने ब्याजमा महासंघ सर्लाहीले थप गरेकाे रकमबाट उक्त पुरस्कार प्रदान गरिदै आइएकाे छ ।

महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरकाे अध्यक्षता एवं महासंघका केन्द्रिय लेखा समिति संयाेजक केसी लामिछाने एवं केन्द्रीय सदस्य राजेश कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न सभाकाे उद्घाटन समाराेहमा
महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, महासचिब शैलेन्द्र क्रान्ती, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पाैडेल, सशस्त्र प्रहरी बल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री, काैडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दास, मानव अधिकार तथा नागरिक समाजका अगुवाद्वय रजनिकान्त झा र शिवचन्द्र चाैधरी, समाजसेवी भवानी काेइराला लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

महासंघका सचिब साेम दियालीकाे सञ्चालन तथा उपाध्यक्ष मुकेश झाले स्वागत गरेकाे कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु चुडामणि वाग्ले, कृष्णकुमार एस्माली, रोशन न्यौपाने, विश्वनाथ ठाकुर, टंकबहादुर क्षेत्री लगायतलाई दाेसल्ला ओडाएर सम्मान गरिएकाे थियाे । उद्घाटन समाराेहमा सम्पूर्ण अतिथिहरुसहित नेपाल प्रेस मञ्चका केन्द्रीय कार्यबाहक अध्यक्ष मनाेज यादव, नेपाल प्रेस युनियनका सर्लाही अध्यक्ष कृष्ण प्रसाद थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मलंगवा पार्टी प्यालेस मलंगवाकाे सभाहलमा शनिबार बिहान आयाेजित उद्घाटन समाराेह मध्यान्ह सम्पन्न भएकाे थियाे । दिउँसाे आयाेजित बन्दशत्रले महासंघ सर्लाहीका सचिब साेम दियालीले प्रस्तुत गरेकाे सांगठनिक प्रतिवेदन तथा काेषाध्यक्ष घनश्याम सिंहले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदनसहित अन्य विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपले पारित गरेकाे अध्यक्ष ठाकुरले जानकारी दिए ।