ईश्वरपुर, ०५ जेठ – सर्लाहीकाे ईश्वरपुरमा आज (मंगलबार) जिल्लास्थित तीनवटा सुरक्षानिकायका सुरक्षाकर्मीहरुले आगलागीकाे घटना नियन्त्रण गर्ने अभ्यास प्रस्तुती गरेका छन् ।
जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजना तथा ईश्वरपुर नगरपालिकाको सहकार्यमा नेपाली सेना कालिध्वज गण पाँचकुमारी ब्यारेक, जिल्ला प्रहरी कार्यालय मलंगवा र सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा. सर्लाहीका सुरक्षाकर्मीहरुले संयुक्त अभ्यास प्रस्तुती गरेका हुन् । कार्यक्रमकाे पहिलो चरणामा सशस्त्र प्रहरी बलका प्रहरी कर्मचारीहरुद्धारा खाना पकाउने सिलिण्डर ग्याँस लिक भई आगलागी हुँदा धनजनको क्षती न्यूनिकरण गर्न ग्याँस पाईपलाई भाँचेर (दोबारेर), ग्याँस सिलिण्डर पाईपको नोजलमा औलाले बन्द गरेर, बाल्टीनद्वारा ढाँकी बन्द गरेर तथा ओड्ने कम्बलको माध्यमबाट नियन्त्रण गर्ने विधिकाे अभ्याससहित प्रस्तुती दिएका थिए ।

दोस्रो चरणमा कालिध्वज गण पाँचकुमारी ब्यारेकका सुरक्षाकर्मीहरुबाट आगलागी घटना भएमा घर वा अफिसमा राखिएको आगाे निभाउने ग्याँसयुक्त सिलिण्डर (Fire Extinguisher) को माध्यमबाट कसरी आगो नियन्त्रण गर्न सकिन्छ भन्ने अभ्यास प्रदर्शन गरिएको थियो ।

तेस्रो चरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल तीनवटै सुरक्षा निकायको संयुक्त टोलीद्वारा अस्थायी घर टहराहरुकाे काल्पनिक नमुना बस्ती तयार पारेका थिए । उक्त बस्तीमा बिजुली सर्ट भई कुनै एक घरमा आगो लाग्दा अन्य वरपरका घर तथा बस्तीमा समेत आगलागी भई अवस्था स्थानीय बासिन्दाको क्षमताभन्दा बाहिर गएको देखाइएकाे थियाे । लगतै तीनवटै सुरक्षा निकायहरुले संयुक्त रुपमा आगो निभाउनुका साथै दमकलको सहायताबाट आगलागी नियन्त्रण गरिएको अभ्यास देखाएका थिए ।
कार्यक्रमको अन्तिम चरणमा सशस्त्र प्रहरी बल, नेपाल नं.१० गण हे.क्वा. सर्लाहीद्धारा समाजमा बढ्दै गएको लागू औषध दुरुपयोग तथा दुर्व्यसनि न्यूनीकरण सम्बन्धी एक जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो । उक्त नाटकमार्फत लागू औषधको असर, यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा युवापुस्तालाई दुर्व्यसनीबाट टाढा राख्न आवश्यक सचेतनाका सन्देशहरू प्रस्तुत गरिएको थियो । युवापुस्ताहरुलाई कुलतबाट जोगिन प्रेरणा दिने उद्देश्यले प्रस्तुत गरिएको उक्त नाटकलाई दर्शकहरूले अत्यन्त मन पराई प्रशंसा गरेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
बिहान ८ बजेदेखि पाैने २ घण्टा आगलागी जस्ताे विपद नियन्त्रणका उपायहरुकाे अभ्यास प्रस्तुतीले स्थानीय नागरिक, विद्यार्थी लगायतमा सचेतनाका लागी निकै टेवा पुगेकाे सुरक्षा अधिकारीहरुकाे भनाइ छ ।
बयलबासस्थित नारायण माविको प्राङ्गणमा आयाेजित
कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, नेपाली सेना कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति प्रमुख सेनानी उमेश खड्का, नं. १० गण हेक्वा सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राई लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुजन केसीको कमाण्डमा ३५ जना, नेपाली सेनाका सेनानी अनुपसिंह भण्डारीको नेतृत्वमा ४१ जना तथा ईलाका प्रहरी कार्यालय बयलवास केशरगंजका प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा १५ जना सुरक्षाकर्मी सहभागी भएका थिए ।