बयलवास, १७ चैत – जेनजी आन्दोलनमा रौतहटको गौर कारागारबाट फरार भएका एक कैदीबन्दी सर्लाहीको ईश्वरपुरबाट पक्राउ परेका छन् ।
जवरजस्तीकरणी मुद्दामा कैद भुक्तानी गरिरहेका रौतहटको दुर्गा भगवती गाउँपालिका–५, बडहर्वा टोल बस्ने २९ वर्षीय दीपेश साह भन्ने शेरु साह फरार भएका थिए । गत भदौ २४ गते कारागारबाट फरार भएका साहलाई इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका–६, बयलवास क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको हो ।
जवरजस्तीकरणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका साहले कारागार कार्यालय गौर रौतहटमा तीन वर्ष नौ महिना कैद भुक्तानी गरेका छन् ।
उनलाई थप कैद भुक्तानका लागि गौर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।