मलगवा, १७ फागुन – सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गरेको छ ।
यसअघि देखि नै जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा बेश खडा गरेर पैदल गस्ती सुरु गरेको सेनाले अहिले बख्तरबन्द गाडीसहितको गस्ती सुरु गरेको हो । सदरमुकाम मलंगवासहित जिल्लाको सबै भेगमा बख्तरबन्द गाडीसहित गस्ती जारी रहेको सर्लाहीको पाँचकुमारीस्थित नेपाली सेनाको कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।
जिल्लामा नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएर निरन्तर गस्ती गरिरहेका छन् । काठमाडौंसहित विभिन्न ठाउँबाट थप मद्धतमा आएका सुरक्षाकर्मीले पनि चारै क्षेत्रमा विभाजन भएर गस्ती गरिरहेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको बताए ।