logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ऐतिहासिक मन्दिर र रुख मासिँदा चिन्ता


  • उज्यालो अभियान

बर, पिपल काटेपछि उदांगो देखिएको जनवादी चोक । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १४ पुस – पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा सर्लाहीमा वर्षौ पुराना मठमन्दिर र रुख मासिएका छन् ।

निर्माण कम्पनिले केही दिनदेखि सडकको क्षेत्राधिकार (राइट अफ वे) भित्र पर्ने रुख काट्ने, मठमन्दिर, चौतारा र अन्य संरचना भत्काउने काम गरिरहेको छ । ऐतिहासिक रुख, चौतारा र मठमन्दिर मासिँदा स्थानीयले भने चिन्ता व्यक्त गरिरहेका छन् ।

राजमार्ग क्षेत्रका अधिकांशले सामाजिक सन्जाल फेसबुक, टिकटकलगायतमा वर्षौअघि रोपिएको रुख ढालिएको र अन्य संरचनाहरु भत्काइएको फोटो, भिडियो पोष्ट गर्दै चिनारी मेटिएको भन्दै चिन्ता व्यक्त गरिरहेका हुन् । लालबन्दी नगरपालिका–६, जनवादी चोकमा ७० वर्षअघि स्थानीय गणेशबहादुर राउतले रोपेको बर, पिपल सडक विस्तार गर्न काटिएको छ ।

लालबन्दीलाई चिनाउने आधारमध्येको ऐतिहासिक बर, पिपल र चौतारो ढल्दा मन भारी भएको स्थानीय राजन पोखरेलल बताए । “सानैदेखि देख्दै आएको रुख ढालिँदा असाध्य खल्लो लाग्दो रहेछ,” पोखरेलले उज्यालो अभियानसँग भने, “यही ठूलो रुख देखेपछि मान्छेले लालबन्दी आयो भन्ने थाहा पाउँथे तर अब त्यो चिनारी नै रहेन ।”

गर्मीयाममा यहाँका सारागाउँले जम्मा भएर शित्तलता लिने थलोको रुपमा रहेको चौतारो मासिएसँगै छहारीको अभाव खड्किने चिन्ता लागेको पोखरेलको भनाइ छ । राजमार्ग छेउछाउका ठूल्ठूला रुख काट्ने काम भइरहँदा विकासका लागि बिनाश स्वीकार गर्नै पर्ने भन्दै स्थानीयले चित्त बुझाइरहेको पाइन्छ ।

लालबन्दी नगरपालिका–९, बस्तीपुर निवासी कलाकार बिजय बरालले घर अगाडि ५२ वर्षअघि रोपिएको अशोकको वृक्ष काटिँदा मन चिरिएको बताएका छन् । बरालले सामाजिक सन्जाल फेसबुकमार्फत २०३० सालमा स्थानीय शिवशरण भण्डारीले रोपेको यो रुख सडक विस्तारको क्रममा काटिएपछि चिन्ता गर्दै बाल्यकालदेखि रुखसँग जोडिएको सामिप्यताबारे चर्चा गरेका छन् ।

बस्तीपुर चोकमा रहेको अशोकको रुख काटेपछिको ठुटो । कलाकार बिजय बरालले यही रुखबारे आफ्‌नो फेसबुक स्टाटसमा लामो ब्याख्या गरेका हुन् । (तस्बीर : उज्यालो अभियान)

बरालले फेसबुक स्टाटसमा लेखेका छन्‌–“मेरो घर अगाडि रहेको ५२ वर्ष पुरानो अशोकको रुख त अब छैन तर मेरो स्मृतिमा भने गहिरिएर अझै उभिएको छ । कतिपय बिछोड आवाजबिना नै मन चिरिँदो रहेछ ।” लालबन्दीमा डुमडुमे शिवालय परिसरमा रहेको बर, पिपल ढालिसकिएको छ भने अब मन्दिरसमेत भत्काउने तयारी गरिएको छ ।

डुमडुमे मन्दिरमा हरेक चाडपर्व तथा विभिन्न अवसरमा दर्शनार्थीले लामवद्ध भएर पूजाअर्चना गर्थे । डुमडुमे मन्दिर परिसरमा यस क्षेत्रका स्थानीयले छठपर्वमा अर्घ चढाउने प्रमुख थलो रहेको पोखरी पनि सडक विस्तारको क्रममा मासिएको छ ।

डुमडुमे शिवालय परिसरको राधाकृष्ण मन्दिर मात्र जोगिने भएको छ । डुमडुमे शिवालयका अध्यक्ष देविबन्धु थापाले विकासका लागि निकास दिनुपर्ने बाध्यताका कारण ऐतिहासिक डुमडुमे मन्दिरसँगै स्वर्गिय अकलबहादुर खड्काको परिवारले रोपेको बर, पिपल र आफ्नै नेतृत्वमा रोपिएको अशोकसहित अन्य वृक्ष मासिएकोमा दुःख व्यक्त गरेका छन् ।

मन्दिर परिसरको रुख काटेपछि डुमडुमे मन्दिर क्षेत्र । अब यो बाँकी रहेको मन्दिरसहितका संरचना पनि भत्काइँदै छ । (तस्बीर : उज्यालो अभियान)

थापाका अनुसार मन्दिरको उत्तरतर्फको कुनामा केही जग्गा खाली बस्ने भएकाले डुमडुमे मन्दिरलाई त्यस ठाउँमा पुनःस्थापना गर्ने गरी छलफलसमेत भइरहेको छ । उनले भने–“मन्दिर मासिँदा पूजा गर्ने ठाउँ पनि बसेन भन्ने धेरैको चिन्ता त छ तर सडक बनेपछि उत्तरतर्फको कुनामा केही जग्गा बाँकी रहने भएकाले त्यहाँ मन्दिर स्थापना गर्ने की भनेर सोच्दैछौँ ।”

लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले डुमडुमे पोखरी मासिएपछि आधा बाँकी बसेको भागमा ठेकेदारले नै डुमडुमे मन्दिर स्थापना गरिदिने प्रतिवद्धता जनाएका बताए । वडाध्यक्ष कार्कीले भने–“मन्दिर नै रहेन भनेर चिन्ता गर्नुपर्दैन्, उत्तरपश्चिमतर्फको भागमा ठेकेदार आफैले मन्दिर बनाइदिने बताएका छन् ।”

सडक विस्तारकै क्रममा पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१, नवलपुर चोकमा रहेको ऐतिहासिक तीनकुने पार्कमा रहेका रुख, विरुवा पनि मासिएका छन् । तीनकुने पार्क र यहाँ रहेका रुख मासिएसँगै सदरमुकाम मलंगवातर्फ जानेहरु र पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेहरुलाई छहारी प्रदान गर्ने ठाउँ नै मासिएको स्थानीय दीपक श्रेष्ठले बताए ।

रुख काटेपछि तीनकुने पार्कस्थित नवलपुर चोकको दृश्य । (तस्बीर : उज्यालो अभियान)

पूर्वपश्चिम राजमार्ग विस्तारका काम भइरहँदा वर्षौ पुरानो रुख मासिँदा उखरमाउलो गर्मी र टन्टलापुर घाममा राजमार्गमा यात्रा गर्ने यात्रुलाई विश्राम लिने ठाउँ सबै मासिएको भन्दै धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । हाइवेलाई चार लेनको बनाउने काम भइरहँदा लालबन्दीसहित जिल्लाको ईश्वरपुर, हरिवन र बागमती नगरपालिकामा पनि पुराना चिरानी मेटिएका छन् ।

हरिवन बजार चोकका युवा व्यवसायी युवराज भण्डारीले सुगन सहकारी अगाडि रहेको बरपिपल ढालिएसँगै बजारको शोभा नै ढलेको गुनासो गरेका छन् । “वर्षौदेखि हरेक परिवर्तन र संघर्षको साक्षी रहेको बर, पिपल अब सम्झनामा मात्रै रह्यो,” भण्डारीले भने, “बर, पिपल काटिँदा बजारको रुप नै मासिएको भान भइरहेको छ ।”

बजारको बर, पिपल मासिएसँगै हरिवन बजारमा आउनेलाई अब छहारी लिने ठाउँको समेत अभाव भएको भण्डारीको भनाइ छ । पछिल्लो समय इतिहास बोकेका यस्ता ठूल्ठूला रुख, विरुवा उखेलेर अन्यत्र स्थानान्तरण गर्ने प्रविधि भित्रिए पनि यहाँ भने यस्ता रुख जोगाउन सरोकारवाला निकायबिच सामान्य बहससम्म पनि हुन सकेको छैन् ।

साउन, भदौको महिनामा तराईको तापक्रम ४० डिग्री सेल्सीयसभन्दा माथि पुग्दा पूर्वपश्चिम राजभार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण गर्मीले हुरुक्क हुँदा छहारीमा बस्ने रुख अब स्मरणमा मात्रै रहने भएका छन् । मानिसको घरसम्म नै टासिने गरी सडक पुगेपछि अब पूर्वपश्चिम राजमार्ग क्षेत्रमा यस्ता ठूला रुख हुने छैनन् ।

जनज्योति बहुमुखी क्याम्पस अगाडिको रुख ढालिएपछिको दृश्य । (तस्बीर : उज्यालो अभियान)

जिल्ला समन्वय समिति (साबिक जिविस) सर्लाहीका सूचना अधिकारी एवं ईश्वरपुर नगरपालिकाका पूर्व योजना शाखा प्रमुख पुष्करमणि घिमिरेले ठूल्ठूला राजमार्ग बनाउनेक्रममा त्यस क्षेत्रमा पर्ने रुखविरुवालाई कटान नगरी अरु खाली क्षेत्रमा रोप्ने प्रविधिको विकास भइसकेको अवस्थामा अहिले यहाँ भने त्यसतर्फ कसैको ध्यान जान नसकेको टिप्पणी गरेका छन् ।

घिमिरे राजमार्ग क्षेत्रका ५० वर्ष पुराना रुखहरु धमाधम काट्ने काम भइरहँदा फेसबुकमा लेख्छन–“नयाँ ठाउँमा विरुवा रोपेर हुर्काउन भन्दा हुर्किसकेका विरुवा उखालेर सार्दा रुख विरुवाको संरक्षण पनि हुने, पर्यावरण पनि राम्रो हुने भएकोले रुख विरुवा स्थानान्तरण गर्ने प्रविधि भित्र्याएर यस्ता कार्य गर्न नेपाल सरकार र सम्वद्ध निकायलाई हार्दिक अपिल गर्न चाहान्छु ।”