कौडेना, १२ पुस – सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दासमेत अझै निर्माण हुन सकेको छैन् ।
भीषण वर्षापछि गएको असोज १९ गते लखन्देही खोलामा आएको बाढीले पक्की सडक बगाएर क्षति गरेको थियो । त्यसबेला सडक कटान भएको तीन दिनपछि अस्थायी डाइसर्भन निर्माण गरेर हुलाकी राजमार्ग सूचारु भएको थियो ।
साँघुरो डाइभर्सनबाट उखु बोकेका गाडी तथा अन्य मालवाहक सवारी वारपार गर्न समस्या परेको स्थानीयले गुनासो गरेका छन् । कौडेना गाउँपालिकासहित सर्लाहीको दक्षिणपश्चिम भेगमा पर्ने गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाका वासिन्दा पूर्वपश्चिम हुलाकी सडक भएर सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्दै आइरहेका छन् ।
हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले बाढीले सडक कटान गरेको यस ठाउँमा अब कलभर्ट निर्माण गर्ने भएको छ । कलभर्ट निर्माणका लागि एक साताअघि ठेक्का आह्वान भइसकेको कार्यालयले जनाएको छ ।
यस ठाउँमा वर्षायामको पानी निकास नहुँदा वर्षेनि सडक नै कटान गर्ने गरेकाले अब मल्टीसेल बक्स कलभर्ट निर्माण गर्न लागिएको हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रञ्जित यादवले जानकारी दिए । उनका अनुसार २७ मिटर लामो कलभर्ट निर्माणका लागि पुस ४ गते ठेक्का आह्वान गरिएको छ ।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले अहिले डाइभर्सनबाट दुःखसुख आउजाउ गर्न मिलिरहे पनि वर्षायामअघि कलभर्ट बनाइसक्न हुलाकी सडक आयोजनालाई घचघच्याइरहेको बताए ।