logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हुस्सु, कुहिरोसहित शीतलहर जारी, जनजीवन कष्टकर


  • उज्यालो अभियान

मलंगवा, १२ पुस – सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो जारी नै छ ।

यसअघि हिजो जिल्लाको उत्तरी भेगमा पारिलो घाम लाग्दा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा दिनभर हुस्सु, कुहिरो लागेको थियो । आज भने जिल्लाको सबैभेगमा निरन्तर शीतलहर चलेर कठ्यांग्रिदो चिसो भइरहेको हो ।

राति तीव्र गतिमा चिसो स्याँठ चल्दा आज जाडो झनै बढेको छ । निरन्तरको चिसोले बालबालिका, वृद्धवृद्धा, अशक्त तथा न्यानो कपडा नभएका मानिस प्रभावित बनिरहेका छन् ।

चिसोका कारण अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु प्रभावित बनेका छन् । बालीनालीमा रोग, कीराको प्रकोप बढ्दो छ भने किसानलाई चौपाय र पन्छी जोगाउन मुस्किल परेको छ ।

चिकित्सकले चिसोबाट स्वास्थ्यमा समस्या देखिने भएकाले अत्यावश्यक काम पर्दाबाहेक बाहिरफेर हिँडडुल नगर्न तथा झोलिलो र ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।