फाइल तस्बीर ।
लालबन्दी, ११ पुस – सर्लाहीमा दिउँसोपख पारिलो घाम लाग्न थालेपछि कठ्यांग्रिदो चिसोबाट प्रभावित भइरहेका नागरिकले राहत महसुस गर्न थालेका छन् ।
अस्ती बुधबारदेखि यहाँ दिउँसोपख पारिलो घाम लाग्न थालेको हो । आज पनि बिहान लागेको हुस्सु क्रमशः हटेर पारिलो घाम लाग्न थालेको छ ।
यसअघि गएको शुक्रबारदेखि मंगलबारसम्म घामै नलागेर लगातार बाक्लो हुस्सु, कुहिरो लागेर शितलहर चल्दा जनजीवन कष्टकर बनेको थियो । तर बुधबारदेखि भने दिउँसोपख घाम लाग्न थालेपछि आम मानिसलाई बाहिरफेरि आउजाउ गर्न, सरसफाई गर्न र न्यानो प्राप्त गर्न राहत मिलेको हो ।
यो वर्ष अली चाँडै हुस्सु, कुहिरो लागिदिँदा आलु, तोरी, मुसुरो, चनासहितका बालीनालीमा ठण्डीजन्य संक्रमण देखा परिरहेको किसानले बताएका छन् ।