logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रात्रिबसलाई चक्रपथभित्र चल्न दिन माग


  • उज्यालो अभियान

लालबन्दी, ०८ पुस – रात्रि बसका संचालकले रात्रि बसलाई गन्तव्यसम्म पुग्नै नदिएको गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र सवारी जामको बहाना गर्दै तराईबाट छुटेर जाने तथा उताबाट छुटेर आउने रात्रि बसलाई गन्तव्यसम्म पुग्न नदिएको र चक्रपथभित्र चल्न नदिएको गुनासो गरेका हुन् । सर्लाहीबाट काठमाडौंसम्म संचालन हुने शिव पार्वती बसका संचालक दीपक श्रेष्ठले काठमाडौंमा कोठा गरेर बस्ने विद्यार्थी, उपचार गर्न जाने बिरामी, वृद्धवृद्धा, अशक्त लगायतलाई गन्तव्यसम्म बस पुग्न नदिँदा समस्या परेको बताए ।

चक्रपथभित्र बस रोक्नै नदिने र जामको बहानामा ट्राफिक प्रहरीले भगाइ हाल्ने परिपाटी रहेकाले यहाँबाट गएका यात्रु अपायक ठाउँमा उत्रिएर फेरि अर्को गाडी चढ्न बाध्य भएको बस व्यवसायी श्रेष्ठको भनाइ छ । बस व्यवसायीले काठमाडौं उपत्यकामा कार्यालय समय सकिएपछि बेलुका ५ बजेपछि र बिहान ७ बजेअघि भए पनि रात्रि बसलाई चक्रपथभित्र पस्न दिन माग गरेका छन् ।

यसो भए यात्रु र बस दुवैलाई सहज हुने व्यवसायीको भनाइ छ । यताबाट गएका यात्रु सरसामग्री टनाटन बोकेर सिटी बसमा चढ्दा दैनिक लुटपाटमा पर्ने गरेको रात्रि बसका संचालकको भनाइ छ ।

केही दिनअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चक्रपथभित्रको विभिन्न रुटमा पूर्व निर्णय अनुसार रात्रि बस चलाउन दिन माग गर्दै यातायात व्यवस्था विभागमा ध्यानाकर्षणा पत्र समेत बुझाइसकेको छ ।