फाइल तस्बीर ।
मलंगवा, ०८ पुस – शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले पालिकाहरुलाई तत्काल विद्यालयमा जाडो बिदा दिन आग्रह गरेको छ ।
कार्यालयले आज दिउँसो जिल्लाका २० वटै पालिकालाई पत्र लेख्दै केही दिनदेखि अत्यधिक चिसो बढेर बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर गर्नुका साथै पठनपाठनमा समेत प्रत्यक्ष प्रभाव परिरहेकाले विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।
निमित्त इकाइ प्रमुख रामवृक्ष महतोले हस्ताक्षर गरी पालिकाहरुमा पठाएको पत्रमा विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा समग्र हितलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा प्रदान गर्न भनिएको छ । चार दिनदेखि रातदिन शीतलहर चलेर बाक्लो हुस्सु, कुहिरो लागी अत्यधिक चिसो बढे पनि सर्लाहीका कुनै पनि स्थानीय तहले अहिलेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छैनन् । बालबालिका चिसोमा कठ्याग्रिएर विद्यालय गइरहेका छन् ।
विशेष गरी सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने गरिब तथा दलित परिवारका बालबालिकासँग विद्यालय जान न्यानो कपडा र जुत्ता नहुँदा समस्या परेको छ । चिसोका कारण कतिपय विद्यालयमा उपस्थित विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षकले बताएका छन् ।
यसैबिच, विगत चार दिनदेखि निरन्तर शीतलहर चलेर अत्यधिक चिसो भइरहँदा सर्लाहीसहित मधेशको जनजीवन असाध्य प्रभावित बनिरहेको छ । अन्य दिनहरुको तुलनामा सर्लाहीमा आज अझै बढी चिसो महसुस गरियो । अघिल्ला दिनहरुमा दिउँसोपख मौसम केही उघ्रिएको जस्तो हुने गरेको भएपनि आज त दिनभर नै एकनासले हुस्सु, कुहिरो लागेर कठ्यांग्रिदो चिसो भइरह्यो ।
यहाँ रातदिन नै लगातार शीतलहर चलेर कठ्याङग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, अशक्त र दीर्घरोगी बढी प्रभावित भएका छन् । गएको शनिबारदेखि हुस्सु, कुहिरोसहित शीतलहर चलेर अत्यधिक जाडो बढ्दा जनजीवन प्रभावित बनेको हो । बिहान–बेलुका त रुखका पात र सडक नै भिज्ने गरी शीतलहर चल्ने गरेको छ ।
दिउँसोसमेत हुस्सु, कुहिरो लागेर निरन्तर चिसो स्याँठ चल्दा स्थानीय प्रभावित बनेका हुन् । चिसो प्रभावितलाई न्यानो प्रदान गर्न स्थानीय पालिकाहरु, जिल्ला विपद् व्यवस्थापन समितिलगायत अन्य सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् ।
हुस्सु, कुहिरोका कारण तोरी, आलु, लहरी, चनालगायतका बाली प्रभावित हुने भन्दै किसान चिन्तित बनेका छन् । चौपाय र पन्छीसमेत चिसोबाट अत्यन्त प्रभावित बनेका छन् ।
चार दिनदेखि घाम नलाग्दा सरसफाईसहित अन्य काम प्रभावित भएको स्थानीयको गुनासो छ । चिसोका कारण अत्यावश्यक काम परेर विभिन्न ठाउँमा पुग्नुपर्नेहरु प्रभावित बनेका छन् ।
अहिलेको मौसममा चिसोजन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धासहित सबै बर्गका मानिस न्यानो भएर बस्न/बसाउन र झोलिला तथा ताता खानेकुरा खान÷खुवाउन चिकित्सकले आग्रह गरेका छन् ।
चिसो अत्यधिक बढ्दा जिल्लाका बजारहरुमा न्यानो कपडाको व्यापार भने उल्लेख्यरुपमा बढेको व्यापारीले बताएका छन् ।