logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

४ दिनदेखि लगातार शीतलहर, जनजीवन कष्टकर


  • उज्यालो अभियान

कविलासी नगरपालिकास्थित सलेमपुर चोक क्षेत्रको दृश्य ।

लालबन्दी, ०८ पुस – विगत चार दिनदेखि निरन्तर शीतलहर चलेर अत्यधिक चिसो भइरहँदा सर्लाहीसहित मधेशको जनजीवन कष्टकर बनिरहेको छ ।

यहाँ रातदिन नै लगातार शीतलहर चलेर कठ्याङग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, अशक्त र दीर्घरोगी बढी प्रभावित भएका छन् । गएको शनिबारदेखि हुस्सु, कुहिरोसहित शीतलहर चलेर अत्यधिक जाडो बढ्दा जनजीवन प्रभावित बनेको हो । बिहान–बेलुका त रुखका पात र सडक नै भिज्ने गरी शीतलहर चल्ने गरेको छ ।

चिसो छल्न मानिसहरु घर, चोक, चौतारा र बजारमा आगो तापेर बसिरहेको देखिन्छ । न्यानो कपडा नभएका विपन्न, दलित तथा सीमान्तकृत परिवार भने कठ्याङग्रिएर बस्न बाध्य छन् । तर चिसो प्रभावितलाई न्यानो प्रदान गर्न स्थानीय पालिकाहरु, जिल्ला विपद् व्यवस्थापन समितिलगायत अन्य सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् ।

हुस्सु, कुहिरोका कारण तोरी, आलु, लहरी, चनालगायतका बाली प्रभावित हुने भन्दै किसान चिन्तित बनेका छन् । चौपाय र पन्छीसमेत चिसोबाट अत्यन्त प्रभावित बनेका छन् । दिउँसोपख मौसम केही उघ्रिने गरे पनि चार दिनदेखि घाम नलाग्दा सरसफाईसहित अन्य काम प्रभावित भएको स्थानीयको गुनासो छ ।

सर्लाहीमा चुरेवर्ती क्षेत्र र पूर्वपश्चिम राजमार्ग क्षेत्रको तुलनामा सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा अझ बढी मात्रामा हुस्सु, कुहिरो लागेर शीतलहर चलिरहेको स्थानीयले बताएका छन् । चिसोका कारण अत्यावश्यक काम परेर विभिन्न ठाउँमा पुग्नुपर्नेहरु प्रभावित बनेका छन् ।

बाक्लो हुस्सु लागेर नजिकैको दृश्यसमेत प्रष्टसँग नदेखिने भएपछि सवारी साधनहरु दिउँसै पनि बत्ती बालेर गुडिरहेका छन् ।

अहिलेको मौसममा चिसोजन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धासहित सबै बर्गका मानिस न्यानो भएर बस्न/बसाउन र झोलिला तथा ताता खानेकुरा खान/खुवाउन चिकित्सकले आग्रह गरेका छन् ।