मलंगवा, २५ मंसिर – नेपाली कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवरी डा. सरोज कुमारले औपचारिक रुपमै प्राप्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयले हिजो डा. सरोजलाई पत्र पठाउँदै मंसिर १५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको जानकारी गराएको हो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा पार्टीको काठमाडौंमा पुस २६ देखि २८ गतेसम्म हुने तय भएको १५ औँ महाधिवेशनका लागि जिल्लामा तयारीसहितका काम अघि बढाउने जिम्मेवारीसहित डा. सरोजलाई कार्यवाहक सभापति तोकिएको उल्लेख छ ।
भ्रष्टाचारको मुद्दा दायर भएर १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले गएको भदौ ६ गते राजिनामा दिएपछि जिल्ला उपसभापति डा. सरोजले जिल्ला कार्य समितिको भदौ ८ गतेको निर्णय बमोजिम कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी निभाउँदै आएका थिए ।
पूर्व जिल्ला सभापति नागेन्द्र कुमारका छोरा डा. सरोज पार्टीको संस्थापन पक्षका नेता मानिन्छन् । संस्थापन इतर पक्षका पार्टी जिल्ला उपसभापति नवीन अधिकारीले पनि कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी माग्दै आएका थिए ।
तर अन्तत केन्द्रीय समितिले संस्थापन पक्षका डा. सरोजलाई नै कार्यवाहकको जिम्मेवारी दिएको छ ।