logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

स्रोत नखुलेको १२ लाखसहित भारतीय पक्राउ 


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

त्रिभुवननगर, २१ मंसिर – सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरबाट आज दिउँसो स्रोत नखुलेको १२ लाख २९ हजारसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

भारतको सितामढी जिल्ला सोनवर्षा ग्रामपन्चायत २ बस्ने २९ वर्षीय धर्मेन्द्र महतो स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन् । महतोलाई आज दिउँसो त्रिभुवननगर प्रहरी चौकीको पछाडि पट्टीको बाटो भएर भारततर्फबाट बीआर ३० वाइ ३२८७ नम्वरको भारतीय मोटरसाइकलमा आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको एक हजार दरका आठ लाख १४ हजार, ५०० दरका तीन लाख ३५ हजार ५००, १०० दरका ७१ हजार २०० र ५० दरका आठ हजार ३०० गरी १२ लाख २९ हजार रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

प्रहरी चौकी त्रिभुवननगरको टोलीले पक्राउ गरेको महतोलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याइएको छ ।