तस्बिर : निरजकुमार यादव
कौडेना, २४ कात्तिक – सर्लाहीको कौडेना गाउँपालिकामा आज प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास हाजिर भएका छन् ।
दासलाई गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगिना देवी, वडाध्यक्ष, अन्य जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत दास केही साताअघि मात्रै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सरुवा भएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सरुवा भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २१ गते दासलाई छिन्नमस्ता गाउँपालिकाबाट कौडेना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो । शाखा अधिकृत दास सर्लाहीकै गोडैता नगरपालिका निवासी हुन् ।
कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत दासले पालिकाका कर्मचारीलाई कार्यालय समयभित्रै कार्यालयमा आइसक्न र पोसाक लगाएर मात्रै कार्यालय आउन निर्देशन दिएका छन् ।
कौडेना गाउँपालिकाका यसअघि १० महिनासम्म आयूर्वेद शाखाका कविराज डा. सोनेलाल साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।