सांकेतिक कार्टुन । (तस्बिर साभार : सामाजिक संजाल)
हरिवन, ११ कात्तिक – प्रेम बिवाह गरेर भागेका जोडीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने मागसहित हरिवनस्थित महेन्द्र राजमार्गमा चक्काजाम गरिएको छ ।
किशोरी पक्षका अभिभावक, आफन्त लगायतले मंगलबार बिहान आधाघण्टा महेन्द्र राजमार्ग चक्काजाम गरेका हुन् । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार हरिवन बजारस्थित अन्तरधार्मिक समुदायका किशोरकिशोरी गत कात्तिक ४ गते घरबाट भागेका हुन् । किशोरको १९ तथा किशोरीको उमेर १८ वर्ष रहेकाले कानून अनुसार बालबिवाह भएकाले कानूनी कार्बाही अगाडी बढाउन किशोरीका आफन्तले माग गरेको प्रहरीले जनाएको छ । प्रहरीले यथाशक्य भागेका जोडीलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि अवरुद्ध राजमार्ग सुचारु भएको थियो । भागेका किशोरकिशोरीलाई २४ घण्टाभित्र नियन्त्रणमा नलिए पुनः चक्काजाम गर्ने चेतावनी दिएका छन् ।
भागेका जोडीको तदारुकताका साथ सम्भावित स्थानहरुमा खोजविन भइरहे पनि फेला पार्न नसकिएकाले उनिहरु भारततर्फ गएको हुनसक्ने इलाका प्रहरी कार्यालय हरिवनले जनायो । ‘अहिले भारतको बिहारमा चुनावी सरगर्मी छ’, प्रहरी स्रोतले भन्यो, ‘यस्तो बेलामा भारतीय सुरक्षाकर्मीले सहयोगका लागि पनि खासै ध्यान दिदैनन् ।’
कतिपय स्थानीयले भने व्यक्तिगत घरायसी समस्यालाई लिएर राजमार्ग नै चक्काजाम गरिनु गलत भएको बताएका छन् । ‘आफ्ना छोराछोरीको दैनिकी चालचलनप्रति सचेत नहुने अनि राजमार्ग बन्द एवं प्रहरीलाई दबाब दिनु गलत अभ्यास हो’, एक स्थानीयले भने, ‘यस्ता मागले प्रहरीले पनि कता-कता केके पो हेरोस् गरोस् ।’