वुद्धबहादुर विश्वकर्मा/परवानीपुर, ०४ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको माध्यमिक विद्यालय तिनघरेमा अक्षयकोष स्थापना गरिएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा विपन्न तथा गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ । उक्त अक्षयकोषमा आज एकै दिन २ लाख २ हजार ९७५ रुपैयाँ संकलन भएको अक्षयकोष समितिका अध्यक्ष तेजबहादुर खत्री (गोविन्द केसी) ले जानकारी दिए ।
उनकै अध्यक्षतामा दीपावली तथा छठ पर्वको शुभकामनासहित अक्षयकोष दाता र तिनघरेका वृद्धवृद्धालाई सम्मानसमेत गरिएको छ । अक्षयकोषमा लालबन्दी १६ का लोकप्रसाद गौतमले १ लाख १५५ रुपैयाँ, निरबहादुर घलानले ५५ हजार, लालबन्दी ९ का गोविन्दबहादुर महतले २५ हजार ५००, लालबन्दी १६ का धनमाया बोगटीले १० हजार १५५, लालबन्दी १६ कै निरबहादुर घलानले ५ हजार ५००, लालबन्दी ७ का विष्णु अधिकारीले ५ हजार १०५, लालबन्दी १६ का प्रकाश थापाले ५ हजारसहित अन्य व्यक्तिले पनि सहयोग प्रदान तथा सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुंगेली, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व नगरप्रमुख मानबहादुर खड्का, लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
आजको कार्यक्रम सम्पन्न गर्नका लागि सम्पूर्ण खर्च लालबन्दी १६ का लोकप्रसाद गौतम (किरण) ले गरेका हुन् ।