जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
संग्रामपुर, ०२ कात्तिक – बोर्डर इलाकामा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरबाट लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सितामढीको मुजेलिया ७ बस्ने ६० वर्षीय इजरायल अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अन्सारीलाई ३१ किलो २१७ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय सङ्ग्रामपुरको टोलीले पक्राउ गरेको हो । नेपालबाट भारततर्फ दुईवटा बोरा टाउकोमा बोकेर जाँदै गरेका अन्सारीलाई रोकेर खानतलासी लिँदा बोराभित्रबाट ठुलो परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
बरामद गरिएको गाँजा सर्लाहीकै उत्तरी भेगबाट लगेर भारततर्फ कटाउन लागिएको हुन सक्ने आशङ्का गरिएको छ । गाँजासहित पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।