logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मनुष्मारामा बेपत्ता बालिका नभेटिएपछि फर्कियो गोताखोर टोली


  • उज्यालो अभियान

धनकौल, ०१ कात्तिक – सर्लाहीको धनकौलस्थित मनुष्मारा खोलामा बगेर बेपत्ता बनेकी बालिका नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली आज साँझ बर्दिवास फर्किएको छ ।

असोज ३० गते दिउँसो नुहाउन र लुगा धुन भनी जाँदा मनुष्मारा खोलाले बगाएर धनकौल गाउँपालिका–३, निवासी दिनकर साहकी छोरी ११ वर्षीया सोनीकुमारी साह बेपत्ता भएकी थिइन् । खोलाले बगाएको पहिलो दिन स्थानीय वासिन्दा र जिल्लाकै प्रहरी भएर खोजी गर्दा बालिका नभेटिएपछि महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश कार्यालयबाट गोताखोर टोली बोलाइएको थियो ।

सशस्त्रको गोताखोर टोलीले हिजो दिउँसो केहीघण्टा र आज दिनभर नै खोजी गर्दा समेत बेपत्ता बालिकालाई फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बगाएको स्थानबाट निकै तल रामनगर गाउँपालिकाको सिसौटसम्म नै गोताखोर टोली पुगेर बालिकाको खोजी गरेको बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म खोजी गर्दा पनि बालिकालाई भेट्टाउन नसकेपछि आज साँझ गोताखोरको टोली बर्दिवास फर्किएको डिएसपी भट्टराईले उज्यालो अभियानसँग बताए ।

स्थानीयका अनुसार बालिकालाई बगाएको ठाउँमा अत्यधिक जलकुम्भी र पानीको तीव्र बेग रहेको छ ।