logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपाल–भारत सीमा समन्वय समितिको भर्चुअल बैठक सम्पन्न


  • उज्यालो अभियान

मलंगववा, ३१ असोज – सर्लाही, रौतहट र महोत्तरीको जिल्ला प्रशासन कार्यालय र भारतको बिहार राज्य सितामढी जिल्ला प्रशासनबिच संयुक्त रुपमा नेपाल–भारत सीमा समन्वय समितिको भर्चुअल बैठक आज सम्पन्न भएको छ ।

बैठकमा नेपाल–भारतको जिल्लास्तरका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख र सीमास्तरका सरोकारवाला निकायका प्रमुखको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार बैठकमा भारतको बिहार राज्यमा सन् २०२५ मा हुने विधान सभा निर्वाचन सन्दर्भमा सीमा व्यवस्थापन र निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता कायम गर्ने, निर्वाचन अवधिभर सीमा बन्द गर्नेलगायत कार्यमा संयुक्त सहकार्य गर्ने, सीमापार अपराध नियन्त्रण, मदिरा/लागु पदार्थ र अन्तराष्ट्रिय मुद्राको तस्करी नियन्त्रण, सीमा स्तम्भ मर्मत, मानव तस्करी नियन्त्रणसम्वन्धी संयुक्त अभियान संचालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा दुवै पक्षबिच संयुक्त गस्ती परिचालन, सूचनाको साझा संयन्त्र निर्माण र स्थानीय तहबिच प्रत्यक्ष सूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।

दुवै पक्षले आगामी दिनमा पनि सीमा सुरक्षा क्षेत्रमा संवेदनशीलता सहकार्य र सन्तुलनपूर्ण कार्यान्वयनका माध्यमबाट आपसी विश्वास र सम्वन्धलाई थप मजबुत बनाउने प्रतिवद्धता व्यक्त भएको सहायक सिडियो पोखरेलले बताए ।