logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हुलाकी राजमार्गमा बनाइयो डाइभर्सन, ४ पांग्रे सवारी गुड्न थाले


  • उज्यालो अभियान

डाइभर्सन बनाएपछि कौडेनास्थित हुलाकी सडकमा चल्न थालेका सवारी साधन । (तस्बीर : निरजकुमार यादव/उज्यालो अभियान)

कौडेना, २३ असोज – सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा डाइभर्सन बनाएपछि आजबाट ४ पाङ्ग्रे सवारी साधन संचालन हुन थालेका छन् ।

भीषण वर्षापछि गत शनिबार राति लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिकै १५० मिटर पक्की सडक बगाएको थियो । उक्त स्थानमा हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाले समन्वय गरी अस्थायी डाइभर्सन निर्माण गरेसँगै आज बिहानबाट ४ पाङ्ग्रे सवारी साधन गुड्न थालेका हुन् ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले दुई दिन र दुई रातको अथक प्रयासपछि डाइभर्सन निर्माण गरेर राजमार्ग सुचारु गरिएको जानकारी दिए । उनका अनुसार ‘वान वे’ अर्थात् एक पटकमा एउटा मात्रै चार पाङ्ग्रे सवारी वारपार गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको छ ।

बाढीले सडक बगाएको ठाउँ नजिक इँटा उद्योगबाट फुटेका इँटा र माटो ल्याएर डाइभर्सन तयार पारिएको हो । सर्लाहीको दक्षिण–पश्चिम भेगलाई सदरमुकाम मलङ्गवासँग जोड्ने मुख्य सडकको रुपमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्ग बाढीले बगाएपछि समस्या परिरहेको थियो ।

यो ठाउँमा यसअघि स्थानीय युवा र सुरक्षाकर्मी भएर बाँस र पटाको लच्का निर्माण गरी पैदलयात्रु, साइकल र मोटरसाइकल वारपार हुने व्यवस्था मिलाएका थिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर बनाएको बाँस र पटाको लच्का पुरेर त्यही ठाउँमा अस्थायी डाइभर्सन बनाइएको बताए ।

कौडेनामा वर्षेनिजसो लखन्देहीको बाढी पसेर हुलाकी सडक बगाउने गरेकाले अब भने कलभर्ट निर्माण गरेर पानी निकास हुने व्यवस्था मिलाउन पहल भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले जनायो ।

कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोले बारम्बार बाढी आएर क्षति गरिरहने कौडेनामा कलभर्ट निर्माणका लागि माथिल्लो निकायमा बजेट माग गर्दै प्रतिवेदन पठाइएको बताए । । यस ठाउँमा कलभर्ट निर्माण गर्न पाए बाढी आएर सडक बगाउने समस्या सँधैका लागि अन्त्य हुने उनको भनाइ छ ।

उनले बजेट अभावका कारण तत्कालै कलभर्ट निर्माणको काम सुरु गर्न भने समस्या रहेको जानकारी दिए ।