लालबन्दी, २३ असोज – सर्लाहीको बेग्लाबेग्लै स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले नवलपुरबाट तीन जना र राजघाटबाट एक जना युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । लालबन्दी नगरपालिका–१, नवलपुरमा ‘सरप्राइज’ चेकिङ गर्नेक्रममा बीआर ०६ सीभी ९९८५ नम्वरको भारतीय मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेका तीन युवकलाई पक्राउ गरिएको लालबन्दी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय युवक रहेका छन् । सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरका १८ वर्षीय प्रिन्सकुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना वसन्तपुर टोल बस्ने २० वर्षीय कृष्णकुमार यादव र कृष्णकै गाउँका १७ वर्षीय किसनकुमार साह लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट लागुऔषध ‘वानरेक्स’ १०० एमएल लेखिएको ११७ बोतल बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए ।
यस्तै बागमती नगरपालिका–६, स्थित राधाकृष्ण मन्दिर नजिकको बाँसघारीबाट लागुऔषधसहित स्थानीय २८ वर्षीय जीवन घिसिङ पक्राउ परेका छन् ।
बागमती प्रदेश ०२–०३० प ५५७० नम्वरको मोटरसाइकलमा शङ्कास्पद अवस्थामा बसिरहेका बेला प्रहरी चौकी राजघाटको टोलीले घिसिङलाई लागुऔषधसहित पक्राउ गरेको हो । घिसिङले बोकेको झोलाबाट लागुऔषध ‘ट्रामन फिप्टी’ लेखिएको क्याप्सुल २१४ पिस, ‘स्पास्मोम’ लेखिएको क्याप्सुल २०० पिस र २५ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नवलपुर र राजघाट दुवै ठाउँबाट लागुऔषधसहित पक्राउ परेका चार युवकलाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।