logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

धामीझाँक्रीको भर पर्दा सर्पले डसेको बिरामीको मृत्यु


  • उज्यालो अभियान

कौडेना, २३ असोज – सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

हिजो दिउँसो गोमन सर्पले डसेर स्थानीय रवीन्द्र यादवकी श्रीमती ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको हो । नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

महिलाको अवस्था गम्भीर भएपछि मात्रै परिवारका सदस्यले उनलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याएका थिए । अस्पताल ल्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार मृत्यु भइसकेकाले महिलालाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन । प्रादेशिक अस्पताल मलङ्गवाले मृत घोषणा गरेपछि पनि परिवारका सदस्यले महिलालाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याएका थिए ।

उपचार केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनिएको उज्यालो अभियानसँग बताए । अत्यन्त विषालु हुने गोमन सर्पले डसेपछि तुरुन्त अस्पताल ल्याउनुको साटो धामीझाँक्रीकहाँ लैजाँदा उपचार नपाएर बिरामीको मृत्यु हुन पुगेको यादवको भनाइ छ ।