logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दी बजारमा बिहानैदेखि खसी बोका किनबेच गर्नेको भीड 


  • उज्यालो अभियान

लालबन्दी, ०९ असोज – सर्लाहीको लालबन्दी बजारमा आज बिहानैदेखि दशैँका लागि खसी बोका किनबेच गर्नेको भीड लागिरहेको छ ।
गाउँगाउँबाट आफूले पालेको खसी बोका बिक्री गर्न ल्याउने किसान र खरिद गर्ने मानिसको असाध्य भीड लागिरहेकोे हो । लालबन्दी ७ स्थित साझा संस्था अगाडि पूर्व पश्चिम राजमार्ग नै ढाक्ने गरी खसी बोका किन्ने र बेच्नको चहलपहल देखिन्छ ।
मोटरसाइकल, टेम्पुलगायत अन्य गाडीमा खसी बोका बेच्न ल्याउने र किनेर लानेलाई भ्याइनभ्याइ परिरहेको छ । सोमबार र बिहीबार हाटबजार लाग्ने लालबन्दीमा अघिल्ला केही बजारदेखि नै खसी बोकाको व्यापार क्रमिकरुपमा बढिरहेको व्यापारीले बताएका छन् ।
खसी बोकाको खेलो–फड्को गर्नेहरु आफैले पनि किसानको घर, गाउँमै पुगेर खसी बोका खरिद गरी बजार ल्याएर बेच्ने गरेका छन् । दशैँको टिकाअघि लालबन्दी बजारमा आगामी सोमबार अझ एउटा खसी बजार लाग्न बाँकी रहेको छ ।
आज र आगामी सोमबार खसी बोकाको करोडौँ व्यापार हुने व्यापारीको भनाइ छ । कतिपय किसानले दशैँमा खसी बोका बेचेरै खर्चको जोहो गर्ने गरेका छन् । सर्लाहीमा लालबन्दी, हरिवन, बरहथवा र बयलवासमा खसी बजार लाग्ने गरेको छ ।
यस्तै केही दिनदेखि बजारमा दशैँ, तीहारका लागि कपडा, खाद्यान्न, मरमसला किन्नेको पनि भिड बढिरहेको छ ।