लालबन्दी, ०३ असोज – सर्लाहीमा निरन्तरको झरी रोकिएर आज भने मौसम उघ्रिएको छ ।
यहाँ गएराति देखि नै पानी परेको छैन् । उत्तरी चुरेवर्ती केही क्षेत्रमा हिजो अपरान्हपख वर्षा भएको स्थानीयले बताएका छन् ।
यो पटक भने जिल्लाको सबैजसो क्षेत्रमा सानो–ठुलो वर्षा भएको स्थानीयले बताएका छन् । तर उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा तुलनात्मक रुपमा कम पानी परेको छ ।
अहिले भएको आकाशे वर्षाले धान बालीलाई धेरै फाइदा पुगेको कृषि प्राविधिकले बताएका छन् । कुनै पनि बालीलाई सिँचाई मात्रै गरेर नहुने र आकाशे वर्षाले साथ दिएपछि परागसेचनसहित बालीको उत्पादन वृद्धिमा टेवा पुग्ने बताइएको छ ।
यो पानीले तत्कालका लागि धानसँगै मकै, गहुँ, उखुसहितका बालीलाई पनि फाइदा पुगेको भन्दै किसान खुसी भएका छन् ।
यसैबिच, नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।