logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गोली प्रहार गरी हत्या गर्ने युवक पक्राउ


  • उज्यालो अभियान

हरिपुर्वा, ०१ असोज – सर्लाहीको हरिपुर्वामा एक महिनाअघि गोली प्रहार गरी स्थानीय रामपुकार यादवको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

गएको साउन ३१ गते अपरिचित व्यक्तिले घरमै आएर गोली प्रहार गर्दा हरिपुर्वा नगरपालिका–६, का ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको थियो । रामपुकारको हत्यामा संलग्न हरिपुर्वा नगरपालिका–६, का २६ वर्षीय सन्तोष भन्ने अभिकुमार यादव पक्राउ परेका हुन् ।

रामपुकारको हत्यापछि अभिकुमार सीमापारी भारतमा गएर लुकिछिपी बस्दै आएका थिए । उनलाई नेपालतर्फ आउँदै गर्दा सर्लाहीकै सीमावर्ती पर्सा गाउँपालिका–३, नारायणपुरबाट पक्राउ गरिएको सर्लाही प्रहरीले दाबी गरेको छ । यादवविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

रामपुकारको हत्याका मुख्य सुटर अर्थात् गोली प्रहार गर्ने हरिपुर्वा नगरपालिका–५, का धीरु भन्ने २६ वर्षीय धीरेन्द्र रायलाई प्रहरीले घटना भएकै दिन पक्राउ परेको थियो । गोली प्रहार गरेर भाग्ने क्रममा हरिपुर्वाकै बसन्तपुरमा मोटरसाइकल लडेपछि धीरेन्द्र घटनास्थलबाटै पक्राउ परेका थिए भने अभिकुमार फरार हुन सफल भएका थिए ।

प्रहरीको अनुसन्धानमा छोरासँगको विवादले गर्दा रामपुकारमाथि गोली प्रहार हुन पुगेको पाइएको छ ।