मलंगवा, ०१ असोज – जिल्ला प्रशासन कार्यालय सर्लाहीले विश्वकर्मा पूजा मर्यादित रुपमा मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठले सूचना जारी गर्दै पर्वलाई शान्तिपूर्ण, मर्यादित एवं संयमित भई मनाउन अनुरोध गरेका हुन् । पछिल्लो समय जेनजी पुस्ताले गरेको आन्दोलन पश्चात सृजना भएको जिल्लाको सुरक्षा संवेदनशीलताको कारणले चाडपर्वको नाममा चर्को आवाजमा डिजे बजाउने, आर्केष्ट्रा नचाउने, सार्वजनिक स्थलहरुमा हो हल्ला गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता अवान्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न÷नगराउन अनुरोध गरिएको छ ।
कानून विपरीत यस्ता क्रियाकलाप गरे गराएको पाइएमा बमोजिम कारवाही हुने तथा सार्वजनिक तथा निजी सम्पत्तिमा कुनै पनि प्रकारको क्षति लगायत सम्पूर्ण गतिविधिको जिम्मेवारी आयोजक नै हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रष्ट पारेको छ । विश्वकर्मा पूजाको अवसरमा जिल्ला सदरमुकाम मलंगवासहित विभिन्न स्थानमा पूजा, मेला महोत्सव हुने गरेका छन् ।
विशेष गरी भोलीदेखि विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा विवाद हुन सक्ने भएकाले प्रहरीले मलंगवासहितका ठाउँमा विशेष सूरक्षा पहरा दिने तयारी गरिरहेको छ ।