मलंगवा, २९ भदौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले भोलीदेखि सम्पूर्ण सेवा प्रवाह गर्ने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले आज सूचना जारी गर्दै भोलीदेखि नागरिकता, राष्ट्रिय परिचयपत्रसहितका सबै सेवा सूरु हुने जानकारी दिएका हुन् । सहायक सिडिओ पोखरेलका अनुसार आगजनी र तोडफोड नभएका अन्य कार्यालयहरुलाई पनि पूर्णरुपमा सेवा दिन निर्देशन दिइसकिएको छ ।
उत्तरी भेगका पालिकाहरुमा समस्या रहे पनि आगजनी र तोडफोड नभएका दक्षिणी भेगका गाउँपालिका र नगरपालिकाले आजदेखि नियमित सेवा दिन थालिसकेका छन् । आगजनी भएका पालिकाहरुमा पनि प्रमुख प्रशासकीय अधिकृतहरुसँग कुरा गरेर वैकल्पिक व्यवस्था गरी आधारभूत सेवा तत्काल प्रवाह गर्न भनिएको सहायक सिडियो पोखरेलको भनाइ छ । उनका अनुसार संघीय सरकार मातहतको कार्यालयमध्ये सदरमुकाम मलंगवास्थित प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामा फर्निचर र गाडी आगजनीबाट जलेको छ ।
अवस्था सामान्य बनाउन र सबै कार्यालयहरुको सेवा पूर्ववत्रुपमा फर्काउन समन्वय जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उज्यालो अभियानसँग बताए ।