हरिवन, २९ भदौ – सर्लाहीमा सामुदायिक तथा निजी विद्यालय आजदेखि सञ्चालनमा आएका छन् ।
जेनजी पुस्ताको आन्दोलनले गर्दा गएको मङ्गलबारदेखि यहाँका विद्यालय अनिश्चितकालिन रुपमा बन्द भएका थिए । आन्दोलन रोकिएर अवस्था सामान्य बनेसँगै विद्यालयमा पठनपाठन सूचारु भएको हो । लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीले नगरभित्रका सम्पूर्ण विद्यालय आजदेखि सञ्चालनमा आएका जानकारी दिईन् ।
प्राप्त सूचना अनुसार जेनजी प्रदर्शनमा जिल्लाका विद्यालयहरुमा कुनै प्रकारको क्षति भएको छैन् । प्रदर्शन चर्किएपछि शिक्षक, विद्यार्थीको सुरक्षाका लागि पालिकाहरुले विद्यालय बन्द गराएका थिए । सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले अवस्था सामान्य बनेपछि नगरभित्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको बताए ।
पठनपाठन सूचारु भएसँगै विद्यालयहरु अब दशैँअघि नै दोस्रो त्रैमासिक परीक्षाको तयारीमा जुटेका छन् ।