वुद्धबहादुर विश्वकर्मा/लालबन्दी, १८ भदौ – सर्लाहीको लालबन्दीमा संचारकर्मीका लागि मर्यादित महिनावारी सम्वन्धी दुई दिने अभिमुखीकरण आजबाट सुरु भएको छ ।
बाल संरक्षण संस्था लालबन्दीले राधा पौडेल फाउण्डेसनसहित अन्य दातृ निकायसँग समन्वय गरी यहाँका पत्रकारका लागि मर्यादित महिनावारी सम्वन्धी अभिमुखीकरण आयोजना गरेको हो । अभिमुखीकरणमा १५ जना पत्रकार सहभागी भएका आयोजककी सरिता कटुवालले जानकारी दिइन् । सहभागीलाई सामुदायिक सूचना नेटवर्क (सीआइएन) का पूर्व सम्पादक एवं मर्यादित महिनावारी अभियानका अभियन्ता गोविन्द खड्काले अभिमुखीकरण प्रदान गर्ने आयोजकले जनाएको छ ।
महिनावारीको कुरा, मर्यादा केन्द्रीत भए मात्रै हुन्छ पुरा’ भन्ने नारासहित संस्थाले संचारकर्मीका लागि यसरी जिल्लामै पहिलो पटक मर्यादित महिनावारीको सम्वन्धमा अभिमुखीकरण आयोजना गरेको हो । महिनावारीका सम्वन्धमा समाजमा रहेका विद्यमान विकृति, विसङ्गती र विभेदलाई संचारकर्मीमार्फत अन्त्य गर्ने उद्देश्यसहित अभिमुखीकरण प्रदान गरिएको आयोजकले जनाएको छ ।