logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एग्रोभेटको अनुगमन गर्दा भागाभाग, ६ बोेरा पोटास बरामद


  • उज्यालो अभियान

लालबन्दी, १८ भदौ – सर्लाहीको लालबन्दी बजारमा रहेका एग्रोभेट पसलको अनुगमन गर्न टोली पुग्दा पसल संचालकको भागाभाग मच्चिएको छ ।

सरकारले प्रदान गर्ने अनुदानको रासायनिक मलमा व्यापक कालोबजारी भएको गुनासो आएपछि हिजो दिउँसो लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनको नेतृत्वमा अनुगमन टोली बजार अनुगमनमा निस्किएको थियो । कृषि सामग्री कम्पनि लिमिटेडको डिलर अर्थात् मल बाँड्ने जिम्मेवारी पाएका सहकारी संस्थामा मलखाद नपाइने तर बजारका एग्रोभेट पसलमा कालोबजारीमा छ्यापछ्याप्ती बिक्री भइरहेको गुनासो आएपछि एग्रोभेट पसलको अनुगमन गरिएको नगर उपप्रमुख कल्पनामाया पाख्रिनले उज्यालो अभियानसँग बताईन् ।

जनप्रतिनिधि, कृषि प्राविधिक, नेपाल प्रहरी र नगर प्रहरी अनुगमनमा आएको थाहा पाएपछि धेरैजसो एग्रोभेट सञ्चालक पसल बन्द गरेर भागेका छन् । तीनवटा एग्रोभेट पसलको मात्रै अनुगमन गर्न पाइएको उपप्रमुख पाख्रिनले बताएकी छन् ।

तीनवटामध्ये एभरेष्ट एग्रोभेट पसलबाट छ बोरा अनुदानको पोटास बरामद गरिएको लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले उज्यालो अभियानलाई जानकारी दिए । वडाध्यक्ष कार्कीले अन्य पसल सञ्चालक हतारहतारमा सर्टर बन्द गरेर फरार भएकाले कालोबजारीको मलखाद रहे/नरहेको हेर्न नै नपाएको बताए ।

सहकारीमार्फत धेरथोर लिएको मल सरकारले प्रदान गरेको अनुदान अनुसार सहुलियत दरमा पाइने गरेको भएपनि एग्रोभेटमा कालोबजारीबाट आएको त्यही मललाई चर्को मुल्यमा किन्नु परेको किसानले गुनासो गरेका छन् ।

डिलरको रुपमा रहेका सहकारीमा मल नपाइने तर एग्रोभेटमा कालोबजारी अर्थात् ब्लाकमा बिक्री गर्न जति पनि हुने गरेको भन्दै किसानले बारम्बार प्रश्न गर्दै आइरहेका छन् ।

सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा यस्तो समस्या आएको किसानको गुनासो छ ।