तस्बिर : घनश्याम सिंह ।
मलंगवा, १५ भदौ – सर्लाहीमा गणेश पूजाको मूर्ति शान्तपूर्वक ढङ्गले विर्सजन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले बयलवासमा बाहेक जिल्लाको अन्य सबै ठाउँमा मूर्ति विर्सजनको काम सकिएको जानकारी दिए । बयलवासमा गाउँका मानिसको निधनका कारण दुई दिन ढिलो गरी मूर्ति विर्सजनको तयारी रहेको स्थानीयले बताएका छन् ।
बरहथवाको गोरु बजारमा गरिएको गणेश पूजाको मूर्ति गएराति विर्सजन गरिएसँगै अब बयलवास एक ठाउँको मात्रै बाँकी रहेको हो । गणेश पूजा भदौ ११ गते बिहीबार नै मनाइए पनि सर्लाहीसहित मधेश क्षेत्रमा तीन÷चार दिनसम्म पूजा गरेर मेला, महोत्सव लगाउने प्रचलन छ ।
गणेश पूजा र पूजा सकिएपछि मूर्ति विर्सजन गर्न लैजाँदा कुनै प्रकारको तनाव सिर्जना हुन नदिन प्रहरीले विशेष सतर्कता अपनाएको थियो । विशेष गरी सदरमुकाम मलङ्गवामा प्रहरीले उच्च सतर्कता अपनाउने गरेको छ ।
मलङ्गवामा दुई दिनअघि नै व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर नजिकैको जलाशयमा लगेर मूर्ति विर्सजनको काम भइसकेको छ । मूर्ति विर्सजन गर्न लैजाँदा मधेशका विभिन्न जिल्लामा अलगअलग समुदायका मानिसबीच झडप हुने गरेको छ ।
हिजो मात्रै प्रदेश राजधानी जनकपुरधामको झण्डा चोकमा गणेश पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा झडप भएपछि प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । सर्लाहीमा भने सुरक्षा निकायको सावधानीका कारण कहिँकतै विवाद र्सिजना हुन पाएन ।
अब मूर्ति विर्सजन गर्न बाँकी रहेको ईश्वरपुर नगरपालिकास्थित बयलवास क्षेत्रमा खासै समस्या नरहेको र त्यहाँ पनि प्रहरी तैनाथ गरेर मूर्ति विर्सजनको काम हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।,