घनश्याम बलम्पाकी/लालबन्दी, १४ भदौ – आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीको आज शपणग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयको सभा हलमा शपथग्रहण समारोह सम्पन्न भएको हो । अघिल्लो महिना साउन २४ गते घुर्कौलीमा सम्पन्न महासंघको छैठौं जिल्ला अधिवेशनले पत्थरकोटका मानवीर माझी अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरेको थियो ।
नवगठित समितिको उपाध्यक्षमा दीपक भुजेल, सचिवमा कौशिल्या लुंगेली, सह–सचिवमा सत्य बोट, कोषाध्यक्षमा ज्ञानु गुरुङलगायत अन्य सदस्य रहेका छन् । तिनै पदाधिकारी र सदस्यको आज शपथ ग्रहण भएको हो ।
नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहमा आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति सर्लाहीका पूर्व अध्यक्षहरु बिक्रम तामाङ, चेतबहादुर मगर, हिराकाजी योन्जन, अमिरी चौधरी, वुद्धिबहादुर सुनुवार र एकबहादुर गुरुङलाई सम्मान गरिएको कार्यक्रम संचालक तेजनारायण आले मगरले बताए ।
मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, इन्द्र योन्जन, हीराकाजी लामा, लेखराम जर्गा मगर, छत्रबहादुर डुमजन, वुद्धिमान तामाङलगायतको आतिथ्यता रहेको थियो ।