बलरा, १० भदौ – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस भएको छ ।
बलरा र आसपासका नागरिक प्रशासन कार्यालयको सेवा लिन ३० किलोमिटर भन्दा बढी पर्ने सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसम्म धाउन बाध्य छन् । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरेको कार्यदलले देशभरका २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गर्दा सर्लाहीको बलरा पनि परेको हो ।
इलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढेको खबरले बलरा क्षेत्रका स्थानीय खुसी भएका छन् । बलरामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि लामो समयदेखि आवाज उठ्दै आएको छ । कार्यालय स्थापना हुँदा बलरा नगरपालिकासहित रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, विष्णु गाउँपालिका र गोडैता नगरपालिकाका स्थानीयलाई पायक पर्ने अवस्था छ ।
सर्लाहीमा दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय, उत्तरी भेगका लागि इलाका प्रशासन कार्यालय हरिवन र पश्चिमी भेगका लागि इलाका प्रशासन कार्यालय बरहथवाले प्रशासनिक सेवा प्रदान गर्दै आइरहेका छन् ।