हरिपुर्वा, ०५ भदौ – सर्लाहीको हरिपुर्वाबाट प्रहरीले आज दिउँसो लागुऔषध गाँजासहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।
हरिपुर्वा नगरपालिका–५, का ४५ वर्षीय रुपेश साह र उहाँकी श्रीमती ३५ वर्षीया प्रतिमाकुमारी साह पक्राउ परेका हुन् । साह दम्पत्तिले घरमा लुकाएर राखेको २० केजी ३४० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले उज्यालो अभियानसँग बताए ।
साह दम्पत्तिले घरमा गाँजा लुकाएर राखेको सूचना पाएपछि प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक (असइ) शेख हफ्जुल्लाह, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमाकान्त जोशी र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र कार्कीको नेतृत्वमा २६ जना प्रहरी परिचालन भएका थिए ।
घरको खानतलासी लिँदा छतमा प्लाष्टिकले बेरेर लुकाएर राखिएको गाँजा बरामद भएको डिएसपी राईले बताएका छन् । बरामद भएको गाँजा र पक्राउ परेका दम्पत्तिलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा लगिएको छ ।