मृतक रामपुकार राय यादव ।
हरिपूर्वा, ३० साउन – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा अहिले राति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको हो । यादवलाई शुक्रबार साँझ घरमा छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।
मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए । गोली प्रहार गर्ने व्यक्ति गोली प्रहार गरेर भाग्दै गर्दा हरिपूर्वाकै बसन्तपुर क्षेत्रमा दुर्घटनामा परेको भनिए पनि प्रहरीले पुष्टी गर्न बाँकी छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले घटनामा संलग्न व्यक्तिको खोजी जारी रहेको जानकारी दिए उनले रामपुकारको केहीबेरअघि मृत्यु भएको पुष्टी गरेका हुन् ।
मृतक यादव यसअघि शिक्षण पेशामा आवद्ध भएपनि अहिले खेती किसानी गर्थे । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेका बुझिएको छ ।