लालबन्दी, २७ साउन – अहिले साँझपख सर्लाहीका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
यहाँ बिहानसम्म पानी परेपनि दिनभर घाम लागेर मौसम उघ्रिएको थियो । तर अहिले साँझबाट पुनः मौसम बदली भएर अधिकांश भु–भागमा वर्षा भइरहेको छ ।
एक सातादेखि निरन्तर यसैगरी पानी परिरहँदा स्थानीयले गर्मीबाट निकै राहत पाइरहेका छन् । वर्षाले धानलगायत अन्य बालीलाई फाइदा गरिरहेको छ । साउन दोस्रो सातासम्म खडेरीले आक्रान्त बनेको सर्लाहीसहित मधेश प्रदेशका जिल्लाहरुमा अहिले हरियाली छाएको छ । प्रशस्त आकाशे वर्षा भएपछि खानेपानी तथा सिँचाईको समस्या तत्काललाई समाधान भएको छ ।
सुकेको चापाकलमा पानी आउन थालेको छ । आकाशे वर्षा पर्याप्त भएकाले बालीनालीका लागि तत्काललाई सिँचाईको समस्या नरहेको किसानले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही ठाउँ, गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ ।