घुर्कौली, २४ साउन – सर्लाहीमा आदिवासी जनजाति महासंघको जिल्ला कार्य समिति परिवर्तन भएको छ ।
आज हरिवन नगरपालिकाको घुर्कौलीस्थित आदिवासी जनजाति भवनमा आयोजित छैठौं जिल्ला अधिवेशनले मानवीर माझी अध्यक्ष रहने गरी महासंघको नयाँ जिल्ला कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दीपक भुजेल, सचिवमा कौशिल्या लुंगेली, सह–सचिवमा सत्य बोट, कोषाध्यक्षमा ज्ञानु गुरुङ र सदस्यमा कमल चौधरी चयन भएका छन् ।
महासंघमा आवद्ध विभिन्न १६ वटा जातिय संगठनबाट पछि एक/एक जना सदस्य गरी १६ जना सदस्य मनोनित हुने छन् । आदिवासी जनजाति महासंघको साधारण सभासहित आज नै ३१ औँ विश्व आदिवासी जनजाति दिवस समेत मनाइएको छ ।
महासंघका निवर्तमान जिल्ला अध्यक्ष एकबहादुर गुरुङको अध्यक्षता तथा मधेश प्रदेश सभाकी सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुरेन्द्र लामा, नारायण खपाङ्गी, लेखराम जर्गा, हीराकाजी योन्जन, इन्द्र योन्जन, छत्र डुमजन, तेजनारायण आलेलगायतको आतिथ्यता रहेको थियो ।