logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रक्सी पिउने ठाउँमा विवाद, तीन युवकमाथि चक्कु प्रहार


  • उज्यालो अभियान

झडप प्रतिकात्मक तस्बिर ।

बलरा, २२ साउन – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–१, छन्की टोलमा भारतीय युवकले चक्कु प्रहार गर्दा तीन जना नेपाली युवक घाइते भएका छन् ।

रक्सी खाने विषयमा विवाद भइ भारतीय पक्षबाट चक्कु प्रहार हुँदा बलरा नगरपालिका–१, कै २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइते तीनै जना बलरास्थित धुलिखेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने भारतीय मुलका अमन सिंह, विकास सिंह, अटल राय, अवशेख सिंहलगायत फरार भएका छन् ।
चक्कु प्रहार गरी भारतीय युवक आफ्नै देशतर्फ फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गडहीया र जिल्ला प्रहरी कार्यालयबाट दुई जना प्रहरी निरीक्षकसहितको प्रहरी टोली परिचालन गरे पनि चक्कु प्रहारमा संलग्न युवक भारतीय सीमा नजिकै भएकाले तत्कालै फरार हुन सफल भएका हुन् ।

भारतको बिहारमा मदिरा बिक्री वितरण र सेवनमा प्रतिवन्ध रहेकाले सीमापारीका स्थानीय मदिरा सेवन गर्न मधेशका जिल्लाको सीमावर्ती गाउँमा आउने गरेका छन् ।